
काठमाडौं – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुझाव तथा गुनासो सुनवाई समिति गठन गरिएको छ।
प्राडा अन्जु प्रधानले हस्ताक्षर गरेको उक्त सूचनामा भनिएको छ, ‘प्रतिष्ठानले प्रवाह गर्दै आएको सेवा सुविधाबारे कुनै गुनासो भए वा सो सेवालाई अझ सरल र प्रभावकारी बनाउन केही सुझाव भए उक्त समितिलाई सोको लिखित रुपमा जानकारी गराइदिनुहुन अनुरोध गरिन्छ। सर्वसाधारणले आफ्नो गुनासो वा सुझावहरू लिखित वा प्रतिष्ठानको बिदाको दिन बाहेक हरेक दिन कार्यालय समयभित्र बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म उपकुलपति कार्यालय परिसरमा रहेको योजना तथा अनुगमन महाशाखाको कार्यालयमा बुझाउन सकिने व्यहोरा समेत जानकारी गराइन्छ।’
सुझाव तथा गुनासोलाई समितिले नेपाली महिनाको पहिलो दोस्रो र तेस्रो आइतबार दिउसो ४ बजेदेखि ५ बजेका बीच उपकुलपतिको बैठक कक्षमा बसी छलफल तथा विश्लेषण गर्ने बताइएको छ। प्रत्यक्ष भेटघाट गरी समितिलाई आफ्नो सुझाव तथा गुनासोहरु राख्न चाहनेले उपकुलपति कार्यालयको बैठक कक्षमा उपस्थित दिन सक्नेछन्। सुझाव तथा गुनासोहरू उपकुलपति समक्ष पेश गरी सोको समाधानका लागि प्रतिष्ठानले आवश्यकता अनुसार पहल गर्ने जानकारी समेत सुचना मार्फत् दिइएको छ ।
हाल प्रतिष्ठानमा रेडियोलोजी अपरेशन, थिएटर तथा विभिन्न प्रोसिजरल सेवाहरू इको, क्याथल्याब, इन्डोस्कोपी आदिका लागि अपोइन्टमेन्ट म्यानुअल प्रणाली मार्फत प्रदान हुँदै आएको छ। उक्त प्रणालीका कारण बिरामीहरूले लामो समय लाइन बस्नुपर्ने, कतिपय अवस्थामा विवाद उत्पन्न हुने, सेवामा ढिलाई हुने र तथ्याङ्कगत सङ्कलन तथा व्यवस्थापनमा कठिनाइ हुने जस्ता समस्याहरू देखा परेका छन् । उक्त चुनौतीहरू न्यूनीकरण गर्दै सेवा व्यवस्थित पारदर्शी र समयमै उपलब्ध गराउनका लागि प्रतिष्ठानका सूचना अधिकृत श्री दिव्यराज थापालाई जानकारी गराइदिनका लागि समेत प्रतिष्ठानले अनुरोध गरेको छ ।
प्रतिष्ठानलाई बिलबिना नै पनि बिचौलियाहरुले कतिपय परीक्षणहरू गराउने गरेको खबर समेत प्राप्त भएकोमा यस्ता कार्य गरेको कसैले थाहा पाएमा सूचना अधिकृत थापालाई सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।






समाचार