लोकप्रिय खबर

विश्वबजारमा किन बढ्दै छ सुनको भाउ, नेपालमा कतिसम्म पुग्ला ?

कर्णाली प्रदेशमा पानी प्रयोगशाला स्थापना

कर्णालीमा इन्टरनेट र फोन सेवा भरपर्दो नभएको उपभोक्ताको गुनासो

देउडा गाउँदै डडेल्धुरामा मनाइयाे धान दिवस (फोटोफिचर)

मेसिनबाट धान राेप्दै एमाले अध्यक्ष ओलीले मनाए धान दिवस (फाेटाेफिचर)

कर्णालीमा २८ प्रतिशत धान रोपाइँ

दैलेखमा राष्ट्रिय धान दिवसको रौनक (फोटो फिचर)

बसाइँसराइले रित्तिएका घरमा होमस्टे

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–५ स्थित सुपिङ गाउँका बसाइँसराइले रित्तिएका घरहरूलाई अहिले आकर्षक होमस्टेका रूपमा प्रयोग गरिएको छ ।

केही वर्षअघिसम्म यस गाउँका अधिकांश घरहरूमा ताला झुन्डिएका थिए । विकास पूर्वाधारको अभाव, रोजगारी र राम्रो अवसरको खोजीमा सुपिङका बासिन्दाहरू हेटौँडा, काठमाडौँ तथा विदेश पलायन भएपछि गाउँका घरहरू रित्तिँदै गएका थिए । खेतबारी बाँझा थिए र गाउँमा एक प्रकारको सुनसान छाएको थियो । यही अवस्थालाई सदुपयोग गर्दै होटल व्यवसायी देवेन्द्र नेपालले ती घरहरूलाई होमस्टेको रूपमा प्रयोगमा ल्याएका हुन् ।

सुपिङ गाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । चारैतिर डाँडाकाँडा, हरियाली, चिसो हावापानी र मौलिक जीवनशैली यसका विशेषता हुन् । मनमोहक अस्ताउँदो सूर्यको दृश्य देख्न सकिने यस गाउँको नजिकै प्राचीन भीमफेदी बजार, गुप्तेश्वर गुफा, गुम्बा, चिसापानी गढी र हात्तीसारजस्ता ऐतिहासिक महत्त्व बोकेका पर्यटकीय स्थलहरू छन् । यसकारण, चितवन, वीरगन्ज, हेटौँडा र काठमाडौँबाट पर्यटकहरू सुपिङ घुम्न आउने क्रम बढ्दो छ ।

पछिल्लो समय देवेन्द्र नेपालले सुपिङका ९ वटा रित्ता घरहरूलाई भाडामा लिएर होमस्टेका रूपमा सञ्चालन गर्दै आएका छन् । घुमफिरका क्रममा सुपिङ पुगेका देवेन्द्र र उनका १९ वर्षीय छोरा प्रतीक नेपालले गाउँको प्राकृतिक सौन्दर्य र मौलिक जीवनशैलीलाई पर्यटनसँग जोड्ने प्रयास गरेका हुन् । पर्यटनको प्रचुर सम्भावना बोकेको र मौलिक संस्कृतिले भरिपूर्ण सो गाउँका घरहरू रित्तो देखेपछि उनीहरू होमस्टे सञ्चालन गर्ने योजनामा अघि बढेका हुन् ।

वर्तमान समयमा अधिकांश युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिँदा गाउँका घरहरू सुनसान हुँदै गएका छन् । तर, थाहा नगरपालिकाको चित्लाङमा रिसोर्ट सञ्चालन गर्दै आएका देवेन्द्रले सुपिङमा होमस्टेको अवधारणा लागु गरे । यसले गर्दा बसाइँसराइले खाली भएका घरहरूमा पुनः चहलपहल फर्काउँदै गाउँमै व्यावसायिक पर्यटनको नयाँ सम्भावना उजागर भएको छ ।

गाउँका पुराना र खाली घरहरूलाई मर्मतसम्भार गरी होमस्टे (घरबास) का रूपमा सञ्चालनमा ल्याएपछि गाउँमा छुट्टै रौनक छाएको स्थानीय बासिन्दा दिलप्रसाद पुडासैनी बताउँछन् । उक्त परिवर्तनको पछाडि युवा उद्यमी प्रतीक नेपालको महत्त्वपूर्ण भूमिका रहेको उनले बताए । विगतमा सडक, बिजुली र पानीजस्ता आधारभूत सुविधाको अभाव झेलेको चित्लाङमा अहिले विकासका पूर्वाधार पुगिसकेका छन् । तर, सुविधा पुग्दा पनि बजारतिर सर्ने क्रम नरोकिएपछि गाउँका घरहरू खाली हुँदै गएको उनको भनाइ छ ।

पुडासैनी भन्छन्, ‘घर–घरमा धारा, बिजुली, बाटो सबै सुविधा सम्पन्न त छ, तर यहाँका स्थानीयहरू बजारमुखी भएर बजारतिर सर्नुभएको छ । उहाँ (देवेन्द्र) यहाँ आएर अब म व्यवसाय सञ्चालन गरेर पुनः बन्द गरेर गएको परिवारलाई हेर्न आउँदा एउटा अर्कै दृश्य देखाउँछु । अहिले टाढा–टाढाबाट पाहुनाहरू आउन थालेका छन् । झिलिमिली बत्ती र चहलपहलले गाउँको वातावरण नै रमाइलो बनेको छ । ग्रामीण पर्यटनको प्रवर्धनमा उक्त होमस्टे कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको छ । जसले स्थानीय स्तरमा आयआर्जन बढाउनुका साथै सांस्कृतिक संरक्षणमा पनि मद्दत पुर्‍याएको छ ।’

उनका अनुसार सुपिङमा होमस्टेले ग्रामीण क्षेत्रको आर्थिक विकासमा मात्र नभई सामाजिक र सांस्कृतिक पुनर्जागरणमा समेत टेवा पुर्‍याइरहेको छ । उनले गाउँलेलाई पनि सहरमुखी मात्र नभई आफ्नो गाउँको विकासमा लाग्न र व्यवसाय गरेर गाउँलाई सुन्दर बनाउन आग्रह गरे ।

यता, देवेन्द्रले उक्त स्थानमा केही सामान्य संरचना निर्माण गरेर होमस्टेको अवधारणासहित छोरा प्रतीकलाई सञ्चालनको जिम्मा लगाएका छन् । देशमै केही गर्न सकिन्छ भन्ने उदाहरणस्वरूप प्रतीक उक्त कर्ममा सक्रिय छन् ।

प्रतीकले भने, ‘सुपिङ गाउँमा घुमफिरका क्रममा पुगेका बेला यहाँ केही सम्भावना देख्यौँ । गाउँको मौलिकता र प्राकृतिक सुन्दरता नै पर्यटनको आकर्षण बन्न सक्छ भन्ने विश्वास जाग्यो । त्यसपछि बसाइँ सरेर गएका घरधनीसँग सम्पर्क गरेर खाली घरहरू प्रयोग गर्न अनुमति माग्यौँ । गाउँ फर्कन नचाहेका घरधनीहरूले पनि आफ्नो घरको हेरचाह हुने र केही आम्दानी हुने भएपछि खुसीसाथ सहयोग गर्नुभयो । ती पुराना घरहरूको मर्मत गरेर सुन्दर होमस्टेमा रूपान्तरण गर्ने काम गत माघदेखि गरेका हौँ । करिब ९ महिनाको अवधिमा ५० जना पाहुनालाई आतिथ्यता दिन सक्ने गरी होमस्टे तयार गरिएको छ ।’

१० रोपनी जग्गा भाडामा लिएर ५० जनासम्म अतिथि अटाउन सक्ने गरी ९ घरहरू र ३ वटा कटेजहरू निर्माण गरेर होमस्टे सञ्चालनमा ल्याइएको उनले बताए । उक्त घरहरू प्रयोग गरेबापत प्रतीकले मासिक ६५ हजार रुपैयाँ भाडा तिर्छन् भने जग्गा जमिनको वार्षिक २ लाख ५० हजार रुपैयाँ तिर्दै आएका छन् । होमस्टेमा प्रतीक र अन्य ४ जना युवाहरूले काम गर्दै आएका छन् भने होमस्टेको संरक्षण र सरसफाइमा स्थानीय महिलाहरूलाई काम गर्ने अवसर दिइएको छ । स्थानीयहरूले उत्पादन गरेका सामग्रीहरू होमस्टेमा नै खरिद गरी प्रयोग गरिन्छ, जसले स्थानीयहरूलाई होमस्टेमा जोड्न सहयोग पुगेको उनले बताए।

उनका अनुसार पहिले सिस्नो र घाँसले घेरिएको घरवरपर अहिले फलफूलका बिरुवा लगाइएको छ । लोप हुन लागेका बुईकलसहित घरहरूको भित्तामा सेतो कमेरो र रातो माटोले लिपिएको उनले बताए । ढुंगेधारोको शैलीमा बनेका पानीका धारा, पुराना सन्दुक, ठेकी, जाँतो, हलोजस्ता परम्परागत सामग्रीले होमस्टेलाई मौलिक रूप दिएको उनको भनाइ छ । जसले गर्दा रित्तो बस्ती अहिले आकर्षक होमस्टेमा परिणत भएको छ ।

होमस्टेमा प्रयोग हुने सागसब्जी, गुन्द्रुक, दाल, अन्न आदि सबै स्थानीय उत्पादन नै प्रयोग गरिन्छ । यसले गाउँका किसानहरूलाई पनि प्रत्यक्ष लाभ पुगेको छ । होमस्टेमा स्थानीयले रोजगारीसमेत पाएका छन् । सुपिङमा होमस्टेले अहिले गाउँको स्वरूप मात्र बदलेको छैन, वर्षौंदेखि सुनसान बस्ती पुनः चहलपहलमाय बनेको छ ।


प्रकाशित : २०८२ कार्तिक २७, बिहीबार ०५:१५

ताजा समाचार
  • खोज खबर बिसेष
    थप