हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–५ स्थित सुपिङ गाउँका बसाइँसराइले रित्तिएका घरहरूलाई अहिले आकर्षक होमस्टेका रूपमा प्रयोग गरिएको छ ।

केही वर्षअघिसम्म यस गाउँका अधिकांश घरहरूमा ताला झुन्डिएका थिए । विकास पूर्वाधारको अभाव, रोजगारी र राम्रो अवसरको खोजीमा सुपिङका बासिन्दाहरू हेटौँडा, काठमाडौँ तथा विदेश पलायन भएपछि गाउँका घरहरू रित्तिँदै गएका थिए । खेतबारी बाँझा थिए र गाउँमा एक प्रकारको सुनसान छाएको थियो । यही अवस्थालाई सदुपयोग गर्दै होटल व्यवसायी देवेन्द्र नेपालले ती घरहरूलाई होमस्टेको रूपमा प्रयोगमा ल्याएका हुन् ।
सुपिङ गाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । चारैतिर डाँडाकाँडा, हरियाली, चिसो हावापानी र मौलिक जीवनशैली यसका विशेषता हुन् । मनमोहक अस्ताउँदो सूर्यको दृश्य देख्न सकिने यस गाउँको नजिकै प्राचीन भीमफेदी बजार, गुप्तेश्वर गुफा, गुम्बा, चिसापानी गढी र हात्तीसारजस्ता ऐतिहासिक महत्त्व बोकेका पर्यटकीय स्थलहरू छन् । यसकारण, चितवन, वीरगन्ज, हेटौँडा र काठमाडौँबाट पर्यटकहरू सुपिङ घुम्न आउने क्रम बढ्दो छ ।
पछिल्लो समय देवेन्द्र नेपालले सुपिङका ९ वटा रित्ता घरहरूलाई भाडामा लिएर होमस्टेका रूपमा सञ्चालन गर्दै आएका छन् । घुमफिरका क्रममा सुपिङ पुगेका देवेन्द्र र उनका १९ वर्षीय छोरा प्रतीक नेपालले गाउँको प्राकृतिक सौन्दर्य र मौलिक जीवनशैलीलाई पर्यटनसँग जोड्ने प्रयास गरेका हुन् । पर्यटनको प्रचुर सम्भावना बोकेको र मौलिक संस्कृतिले भरिपूर्ण सो गाउँका घरहरू रित्तो देखेपछि उनीहरू होमस्टे सञ्चालन गर्ने योजनामा अघि बढेका हुन् ।
वर्तमान समयमा अधिकांश युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिँदा गाउँका घरहरू सुनसान हुँदै गएका छन् । तर, थाहा नगरपालिकाको चित्लाङमा रिसोर्ट सञ्चालन गर्दै आएका देवेन्द्रले सुपिङमा होमस्टेको अवधारणा लागु गरे । यसले गर्दा बसाइँसराइले खाली भएका घरहरूमा पुनः चहलपहल फर्काउँदै गाउँमै व्यावसायिक पर्यटनको नयाँ सम्भावना उजागर भएको छ ।
गाउँका पुराना र खाली घरहरूलाई मर्मतसम्भार गरी होमस्टे (घरबास) का रूपमा सञ्चालनमा ल्याएपछि गाउँमा छुट्टै रौनक छाएको स्थानीय बासिन्दा दिलप्रसाद पुडासैनी बताउँछन् । उक्त परिवर्तनको पछाडि युवा उद्यमी प्रतीक नेपालको महत्त्वपूर्ण भूमिका रहेको उनले बताए । विगतमा सडक, बिजुली र पानीजस्ता आधारभूत सुविधाको अभाव झेलेको चित्लाङमा अहिले विकासका पूर्वाधार पुगिसकेका छन् । तर, सुविधा पुग्दा पनि बजारतिर सर्ने क्रम नरोकिएपछि गाउँका घरहरू खाली हुँदै गएको उनको भनाइ छ ।

पुडासैनी भन्छन्, ‘घर–घरमा धारा, बिजुली, बाटो सबै सुविधा सम्पन्न त छ, तर यहाँका स्थानीयहरू बजारमुखी भएर बजारतिर सर्नुभएको छ । उहाँ (देवेन्द्र) यहाँ आएर अब म व्यवसाय सञ्चालन गरेर पुनः बन्द गरेर गएको परिवारलाई हेर्न आउँदा एउटा अर्कै दृश्य देखाउँछु । अहिले टाढा–टाढाबाट पाहुनाहरू आउन थालेका छन् । झिलिमिली बत्ती र चहलपहलले गाउँको वातावरण नै रमाइलो बनेको छ । ग्रामीण पर्यटनको प्रवर्धनमा उक्त होमस्टे कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको छ । जसले स्थानीय स्तरमा आयआर्जन बढाउनुका साथै सांस्कृतिक संरक्षणमा पनि मद्दत पुर्याएको छ ।’
उनका अनुसार सुपिङमा होमस्टेले ग्रामीण क्षेत्रको आर्थिक विकासमा मात्र नभई सामाजिक र सांस्कृतिक पुनर्जागरणमा समेत टेवा पुर्याइरहेको छ । उनले गाउँलेलाई पनि सहरमुखी मात्र नभई आफ्नो गाउँको विकासमा लाग्न र व्यवसाय गरेर गाउँलाई सुन्दर बनाउन आग्रह गरे ।
यता, देवेन्द्रले उक्त स्थानमा केही सामान्य संरचना निर्माण गरेर होमस्टेको अवधारणासहित छोरा प्रतीकलाई सञ्चालनको जिम्मा लगाएका छन् । देशमै केही गर्न सकिन्छ भन्ने उदाहरणस्वरूप प्रतीक उक्त कर्ममा सक्रिय छन् ।
प्रतीकले भने, ‘सुपिङ गाउँमा घुमफिरका क्रममा पुगेका बेला यहाँ केही सम्भावना देख्यौँ । गाउँको मौलिकता र प्राकृतिक सुन्दरता नै पर्यटनको आकर्षण बन्न सक्छ भन्ने विश्वास जाग्यो । त्यसपछि बसाइँ सरेर गएका घरधनीसँग सम्पर्क गरेर खाली घरहरू प्रयोग गर्न अनुमति माग्यौँ । गाउँ फर्कन नचाहेका घरधनीहरूले पनि आफ्नो घरको हेरचाह हुने र केही आम्दानी हुने भएपछि खुसीसाथ सहयोग गर्नुभयो । ती पुराना घरहरूको मर्मत गरेर सुन्दर होमस्टेमा रूपान्तरण गर्ने काम गत माघदेखि गरेका हौँ । करिब ९ महिनाको अवधिमा ५० जना पाहुनालाई आतिथ्यता दिन सक्ने गरी होमस्टे तयार गरिएको छ ।’

१० रोपनी जग्गा भाडामा लिएर ५० जनासम्म अतिथि अटाउन सक्ने गरी ९ घरहरू र ३ वटा कटेजहरू निर्माण गरेर होमस्टे सञ्चालनमा ल्याइएको उनले बताए । उक्त घरहरू प्रयोग गरेबापत प्रतीकले मासिक ६५ हजार रुपैयाँ भाडा तिर्छन् भने जग्गा जमिनको वार्षिक २ लाख ५० हजार रुपैयाँ तिर्दै आएका छन् । होमस्टेमा प्रतीक र अन्य ४ जना युवाहरूले काम गर्दै आएका छन् भने होमस्टेको संरक्षण र सरसफाइमा स्थानीय महिलाहरूलाई काम गर्ने अवसर दिइएको छ । स्थानीयहरूले उत्पादन गरेका सामग्रीहरू होमस्टेमा नै खरिद गरी प्रयोग गरिन्छ, जसले स्थानीयहरूलाई होमस्टेमा जोड्न सहयोग पुगेको उनले बताए।
उनका अनुसार पहिले सिस्नो र घाँसले घेरिएको घरवरपर अहिले फलफूलका बिरुवा लगाइएको छ । लोप हुन लागेका बुईकलसहित घरहरूको भित्तामा सेतो कमेरो र रातो माटोले लिपिएको उनले बताए । ढुंगेधारोको शैलीमा बनेका पानीका धारा, पुराना सन्दुक, ठेकी, जाँतो, हलोजस्ता परम्परागत सामग्रीले होमस्टेलाई मौलिक रूप दिएको उनको भनाइ छ । जसले गर्दा रित्तो बस्ती अहिले आकर्षक होमस्टेमा परिणत भएको छ ।
होमस्टेमा प्रयोग हुने सागसब्जी, गुन्द्रुक, दाल, अन्न आदि सबै स्थानीय उत्पादन नै प्रयोग गरिन्छ । यसले गाउँका किसानहरूलाई पनि प्रत्यक्ष लाभ पुगेको छ । होमस्टेमा स्थानीयले रोजगारीसमेत पाएका छन् । सुपिङमा होमस्टेले अहिले गाउँको स्वरूप मात्र बदलेको छैन, वर्षौंदेखि सुनसान बस्ती पुनः चहलपहलमाय बनेको छ ।






समाचार