लोकप्रिय खबर

विश्वबजारमा किन बढ्दै छ सुनको भाउ, नेपालमा कतिसम्म पुग्ला ?

कर्णाली प्रदेशमा पानी प्रयोगशाला स्थापना

देउडा गाउँदै डडेल्धुरामा मनाइयाे धान दिवस (फोटोफिचर)

कर्णालीमा इन्टरनेट र फोन सेवा भरपर्दो नभएको उपभोक्ताको गुनासो

मेसिनबाट धान राेप्दै एमाले अध्यक्ष ओलीले मनाए धान दिवस (फाेटाेफिचर)

कर्णालीमा २८ प्रतिशत धान रोपाइँ

दैलेखमा राष्ट्रिय धान दिवसको रौनक (फोटो फिचर)

मतदाता नामावली सङ्कलन गर्न सरकारी निर्णयको प्रतीक्षामा निर्वाचन आयोग

६ असोज, काठमाडौं । आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन गर्ने बाटो खुलाइदिन आग्रह गर्दै सरकारलाई पत्राचार गरेको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदाता नामावली सङ्कलनका लागि आवश्यक व्यवस्था मिलाउन गृह मन्त्रालयलाई पत्राचार गरिसकेको बताए । उनले निर्वाचन आयोग सरकारी निर्णयको प्रतीक्षामा रहेको पनि जानकारी दिए ।

‘आयोगले पत्राचार गरिसकेको छ । निर्णयको प्रतीक्षामा छौँ’, कार्यवाहक आयुक्त भण्डारीले सोमबार रातोपाटीसँग भने, ‘सरकारको निर्णय र जवाफ आउनेवित्तिकै मतदाता नामावली सङ्कलनका लागि आयोगले सूचना जारी गरेर सङ्कलनको काम थाल्छ ।’

विद्यामान कानुन अनुसार निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली सङ्कलनको काम रोकिने व्यवस्था छ । त्यस्तो अवस्थामा अहिले आयोगले मतदाता नामावली सङ्कलन गर्न नसक्ने भएकाले सरकारले अध्यादेशमार्फत कानुनी बाधा फुकाइदिनुपर्ने हुन्छ ।
‘अध्यादेशमार्फत नियमावली संशोधन गरेर मतदाता नामावली सङ्कलनको काम गर्ने व्यवस्था मिलाउन हामीले आग्रह गरेका हौ’, आयुक्त भण्डारीले भने, ‘सरकारी प्रक्रिया पुरा भएपछि खबर आउँला । निर्णय भएपछि हामी तत्कालै काम सुरु गर्छौ ।’

मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा २ बमोजिम चुनावको मिति घोषणा भइसकेपछि सोही निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न नपाइने व्यवस्था उल्लेख छ । यसअघि आयोगले २०७९ को निर्वाचनअघि मतदाता नामावली सङ्कलन गरेको थियो ।

यस्तो अवस्थामा पुन मतदाता नामावली सङ्लनका निम्ति सरकारले अध्यादेशमार्फत ऐन संशोधन गर्नुपर्ने हुन्छ । यसका लागि सरकारले मन्त्रिपरिषदबाट संशोधन गर्न लागेको विषय निर्णय गरेर राष्ट्रपतिबाट स्वीकृत गरेर जारी गर्नुपर्ने हुन्छ ।

निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदानको व्यवस्था गर्नुपर्ने आवाज उठिरहेको छ । ६ महिनाभित्र चुनाव गराउने कार्यादेशसहित गठित अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार निर्वाचन आयोगका पदाधिकारीहरूलाई भेटेर विदेशमा रहेका नेपालीलाई मतदानको अवसर दिनुपर्ने बताएका थिए । यसअघि सर्वोच्च अदालतले समेत विदेशमा रहेका नेपालीलाई मतदानको अवसर दिनुपर्ने आदेश दिएको थियो ।

तर, कार्यवाहक आयुक्त भण्डारी त्यो व्यवस्था गर्न सरकार र आयोग संयुक्त रूपमा बसेर छलफल गरेर निर्णय नगरेसम्म त्यो विदेशमा रहेकालाई मतदानको व्यवस्था मिलाउन कठिन हुने बताउँछन् । ‘सरकार र आयोग संयुक्त बसेर साझा अवधारणा नबनाएसम्म हामीले मात्रै आग्रह गरेर हुँदैन’, उनले भने, ‘नयाँ व्यवस्थाका लागि गृहकार्य र श्रोत साधन आवश्यक छ सरकारले भनेर मात्रै पनि हुँदैन ।’ भण्डारीले सरकारले आवश्यक व्यवस्था मिलाएमा भने आयोगलाई कुनै समस्या नहुने र निर्वाचन गराउने बताए । उनले यो विषय छलफलको विषय भएको भन्दै विज्ञहरूसँग समेत आयोगले छलफल गरिरहेको बताए ।

विश्वका झन्डै १७० विभिन्न देशमा नेपालीहरू बसोबास गर्छन् । त्यसमध्ये अधिकांश खाडी मुलुकमा रहेको बताइएको छ ।  कूटनीतिक नियोग रहेका देशमा मत सङ्कलन गर्न सकिए पनि नभएका अन्य मुलुकमा समस्या हुनसक्ने विज्ञहरू बताउँछन् ।


प्रकाशित : २०८२ आश्विन ६, सोमबार १०:५७

ताजा समाचार
  • खोज खबर बिसेष
    थप